मोरङ- प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रवेश गरेका सांसदले सक्षम र राम्रो भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
प्रदेशसभा सचिवालय प्रदेश नं १ द्वारा शुक्रबार यहाँ आयोजित ‘प्रदेशसभाका नवनिर्वाचित सदस्यका लागि अभिमुखीकरण’ कार्यक्रममा उनले सांसदको भूमिका प्रदेशसभा र बाहिर पनि हुने भएकाले आफ्ना जिम्मेवारी र उत्तरदायीत्व इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने बताए ।
प्रदेश संरचनासहितको सङ्घीयतालाई सदृढ एवं व्यवस्थित गर्न सांसदले आफ्नो कामबाट प्रमाणीत गर्नुपर्ने कुरामा उनले जोड दिए । उनले सङ्घीयतका विषयमा विभिन्न कोणबाट नकारात्मक टिप्पणी भइरहेको अवस्थामा यसलाई चिरफार गर्न प्रदेशसभा सदस्यको भूमिका अझ फराकिलो हुने भन्दै प्रदेश सरकारले हरेक वर्ष प्रत्येक जिल्लामा तीनदेखि चार सय योजना पठाइरहेको जानकारी दिए ।
मुख्यमन्त्री राईले सङ्घीय सरकारले दोहोरो अधिकारका कानुन बनाइ नसेकाले प्रदेश निजामती सेवा ऐन र प्रदेश प्रहरी ऐन बन्न नसकेको बताउँदै प्रदेशसभा सदस्य र सरकार बलिया हुनुपर्ने धारणा राखे। प्रदेश सभाध्यक्ष गयानन्द मण्डल गनगाईंले जनप्रतिनिधिले आफ्नो औचित्य सावित गर्न जनताका चाहना र आवश्यकतामा ध्यान दिनुपर्ने बताए ।
उनले जनताले अहिले पनि नागरिकता र मल बीउबिजनको समस्या झेलिरहेकाले यसमा सरकार गम्भीर हुनुपर्ने धारणा राख्दै उत्पादन र उत्पादकत्व बढाउने किसानको समस्यामा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।




प्रतिक्रिया