गुडिरहेको रेलमा आगलागी, ४६ जनाको मृत्यु


एजेन्सी – पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार कराँचीबाट रावलपिन्डी जाने क्रममा लियाकतमा ‘तेज गाम एक्सप्रेस’ नाम गरेको उक्त रेलमा बिहीबार आगलागी भएको हो ।

रेलको तीनवटा डिब्बामा आगो लागेको अधिकारीहरुले जनाएका छन् । स्थानीय प्रशासनले ४६ जनाको मृत्यु भएको पुष्टि गरेको छ । अन्य ४२ यात्रु घाइते भएको बताइएको छ । रेलमा सवार यात्रीको एउटा समूहले ग्यास सिलिन्डर, चुलो लगायत खाना पकाउने सामान बोकेका थिए । उनीहरुकै ग्यास सिलिन्डर विस्फोट हुँदा आगो लागेको बताइएको छ ।

रेडियो पाकिस्तानका अनुसार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घाइतेहरुको उपचारमा कुनै कमी आउन नदिन पनि प्रशासनलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement