काठमाण्डु – धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुगेको छ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट आज दिउँसो जनकपुर आइपुगेको हो ।
रेल हेर्न सयौंको संख्यामा नागरिकहरु जनकपुर रेल वे स्टेशनमा पुगेका थिए । कोरोना भाइरसको पर्वाह नगरी ठूलो स्ंख्यामा मानिसहरु रेल हेर्न पुगेका हुन् ।
भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था–जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट ल्याइएको हो । आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे ।
जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको सो रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।
रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । संसद्मा अहिले रेलसम्बन्धी बिधेयक छलफलका क्रममा छ ।




प्रतिक्रिया