लामो समयदेखि थन्किएको रेल पुनः परीक्षणका लागि गुडाइयो

लामो समयदेखि थन्किएको रेल पुनः परीक्षणका लागि गुडाइयो


जनकपुरधाम –  धनुषाको इनरुवा स्टेशनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार परीक्षण गरिएको छ । खरिद गरिएको लामो समयपछि एकै स्थानमा राखिएकोले दुवै रेलको इन्जिनलाई शनिबार कुर्थासम्म गुडाएर पुराइएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले लामो समयदेखि एकै स्थानमा राखिएको रेलको इन्जिन ट्रायलको लागि चलाएको बताए । खरिद गरेर नेपाल आएदेखि रेल नचलाउँदा दुबै रेलका इन्जिनका ब्याट्री, चक्काको पिस्टन, जेनरेटर खराब भएको थियो । शनिबार कुर्था ल्याउनुअघि दुबै रेलको इन्जिन मर्मतसम्भार गरिएको महाप्रबन्धक झाले बताए ।

२०७७ असोज २ गते जनकपुर ल्याइएको रेल ३ गतेदेखि इनर्वा स्टेशनमा पार्किङ गरी राखिएको छ । लामो समयसम्म पार्किङ गरेर राखिएका कारण रेलको पार्टपूर्जाको अवस्थाबारे बुझ्न परीक्षण गरिएको महाप्रबन्धक झाले बताए ।

इनर्वा स्टेशनमा राखिएको रेल जनकपुरधाम हुँदै कुर्थासम्म पुगेको छ । कुर्थाबाट पुनः रेल घुमाएर जनकपुरधामसम्म ल्याएर परीक्षण गर्ने तयारी गरिएको छ ।भारतबाट ल्याएदेखि नै रेललाई त्रिपालले छोपेर राखिएको थियो ।