काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाको उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउन सूचना जारी गरेको छ ।
बिहीबार सूचना जारी गरेर प्राधिकरणले आगामी आईतबारसम्म ४ दिन भारी एवं अतिभारी मनसुनी वर्षा हुने पूर्वानुमान सार्वजनिक गर्दै उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लामा शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन भनेको छ ।
धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भूइँतलामा अन्नपात नराख्ने, पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउने, दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजाने बताउँदै सचेत गराएको छ ।
खोज तथा उद्धारका लागि ३ वटै सुरक्षा निकाय एवं स्वयंसेवकहरू तयारी अवस्थामा राख्न, अत्यन्त जरुरी अवस्थाबाहेक यात्रा नगर्न, बादल गर्जेको र चट्याङ परिरहेको बेला रुखमुनि, बलेनीमा वा घरबाहिर नबस्न, पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही सतर्क रहन पनि प्राधिकरणले अपिल गरेको छ ।
हेर्नुहोस् सूचनाः





प्रतिक्रिया