काठमाण्डु-आज बिहानैदेखि कोशी प्रदेशका पूर्वी भाग र आसपासका जिल्लामा वर्षा भइरहेको छ ।
वर्षा मध्यमदेखि भारी खालको छ । आज दिउँसोतिर वर्षा केही बढ्न सक्ने सम्भावना छ ।
काठमाडौंको उत्तरी भेगमा पनि भारी वर्षा भइरहेको छ । सुन्दरीजलमा तीन घण्टाको अवधिमा ४२ मिलिमिटरसम्म वर्षा मापन भएको छ ।
बिहीबार बिहान ४ बजेको मापन अनुसार पछिल्लो ३ घण्टामा झापाको अनरमनी बिरता, शनिश्चरे र बाहुनडाँगीमा सामान्यदेखि मध्यम वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै इलामको कन्याम टी–स्टेट र बरफल्याङ, पाँचथरको फिदिम, मोरङको बाहुने र आसपास सामान्यदेखि मध्यम वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाई छ ।
उक्त क्षेत्रहरू भई बहने कन्काइ नदी, हेवा खोला, पूवा खोला, माई खोला, अदुवा खोला, बाहुने खोला लगायत अन्य स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना रहेको छ । नदी तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
यसैगरी सिन्धुपाल्चोकको तार्केघ्याङ, सुनसरीको तहरा, धनकुटाको त्रिवेणी, झापाको अर्जुनधारा, इलामको सोक्तिम टिस्टेटमा भारी वर्षा मापन भएको छ । भारतको उत्तर–पूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले नेपालमा वर्षा गराइरहेको हो । यसको असर आज र भोलिसम्म रहने सम्भावना छ ।
असोज १० गतेदेखि १२ गतेसम्म भएको भारी वर्षाले जमिन कमजोर भएको ठाउँमा पनि यो वर्षाले पहिरो जान सक्ने सम्भावना हुने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ ।




प्रतिक्रिया