काठमाण्डु – पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आईतबार साँझदेखि नेपालका धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदली र वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
आईतबार साँझदेखि सोमबार रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरू तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आएर चिसो बढ्न सक्ने सम्भावना रहेको छ ।
वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले मौसमी प्रणालीलाई अनुगमन गरिरहेको जनाएको छ ।




प्रतिक्रिया