काठमाण्डु- पश्चिमी वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा भएहेको छ । यी प्रदेशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी पहाडी भू–भागका थोरै ठाउँमा पनि हल्का वर्षा भएको छ ।
पश्चिम नेपालमा जमिन भिज्ने गरी वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । पछिल्लो १२ घण्टामा बैतडीमा सबैभन्दा धेरै २० दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बाजुरा, डोटी, डडेलधुरालगायतका जिल्लामा पनि वर्षा भएको छ ।
यस्तै, काठमाडौं उपत्यकासहित देशभर अहिले बादल लागेको छ । दिउँसो पछि काठमाण्डौमा पनि पानी पर्ने सम्भावना छ । तर पश्चिममा भन्दा कम पानी पर्ने जनाइएको छ ।
भारतको जम्मू काश्मीर, हिमाञ्चल हुँदै नेपाल भित्रिएको मौसमी प्रणाली शुक्रबार दिउँसोसम्म काठमाण्डौ आइपुग्ने तर पश्चिमको तुलनामा कमजोर रहने अनुमान छ । यसले मधेशबाहेकका अरु ठाउँमा प्रभाव परे पनि पूर्वमा सामान्य मात्र असर गर्नेछ ।
शनिबार बेलुकादेखि धेरै ठाउँको मौसम क्रमिक सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।




प्रतिक्रिया