काठमाण्डु – पूर्वी तराईमा लामो खडेरीपछि केही दिन मनसुन सक्रिय हुने भएको छ ।
पछिल्लो २४ घण्टामा झापा, उदयपुर, मोरङ, धनकुटा लगायतका क्षेत्रमा भारी वर्षा भएको छ ।
झापाको अनारमनी विर्ता स्टेसनमा १५१.६ मिलिमिटर, गाईघाटमा १३४.३, चन्द्रगढीमा १२७ र दमकमा १२१ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मधेस प्रदेशको बरमजियामा ९३.६ मिलिमिटर, सिरहामा ८४.४ र लहानमा ७२.८ मिलिमिटर वर्षा भएको छ भने १६ भन्दा बढी स्टेसनमा ८० मिलिमिटरभन्दा बढी वर्षा भएकाले भारी वर्षा मानिएको छ ।
बाँके, बाग्लुङ, सिन्धुपाल्चोक, डोटी, डडेल्धुरा लगायतका ठाउँमा उल्लेखनीय वर्षा भएको विभागको जनाएको छ ।
मनसुन न्यून चापीय रेखा तराई नजिकै रहेकाले अझै केही दिन देशभर बदली रहने र अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अत्यधिक वर्षा हुन सक्ने जनाउँदै विभागले सावधानी अपनाउन आग्रह गरेको छ ।




प्रतिक्रिया