काठमाण्डु – काठमाडाैं उपत्यकामा आज बिहानैदेखि भारी वर्षा हुँदा नदीहरूमा जलसतह बढेकाे छ । जल तथा माैसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा भारी वर्षा भएको जनाएकाे छ ।
भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ । हाल बागमतीको जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटीय क्षेत्रमा हुनेहरूले आज बेलुका सम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै बर्दियाको बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको छ । दाङका लमही र लालमटिया तथा बाँकेको कुसुमस्थित वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कमला नदी, सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा रहनेहरू बिहान अबेरसम्म सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै कञ्चनपुर र कैलालीको धेरै स्थानमा भारी वर्षा भएको छ ।




प्रतिक्रिया