कोशीदेखि बागमतीसम्म आज राति भारी वर्षा हुने पूर्वानुमान, सतर्क रहन अनुरोध

कोशीदेखि बागमतीसम्म आज राति भारी वर्षा हुने पूर्वानुमान, सतर्क रहन अनुरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले आज शुक्रवार राति कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहनुका साथै मधेश र बागमती प्रदेशका १–२ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

शुक्रवार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले शुक्रवार राति कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना साथै मधेश र बागमती प्रदेशका १–२ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको तथा यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भूभागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

हाल कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी र कर्णाली प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिवार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

शनिवार राति कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतवार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।