काठमाण्डु–बहुराष्ट्रिय मदिरा उत्पादक काल्सबर्गका नेपाल साझेदार उद्योगी राजबहादुर शाह धितोपत्र बजारमा गरिएको अनियमित कारोबार प्रकरणमा मुछिएका छन् ।
धितोपत्र बोर्डको अध्ययनअनुसार शाहले व्यवसायी दीपक भट्टसँग मिलेर नियमविपरीत धितोपत्र किनबेच गरेको निष्कर्ष निकालिएको छ ।
सोही आधारमा उनलाई दुई वर्षसम्म कैद सजाय सिफारिस गरिएको हो । शाह हाल गोर्खा ब्रुअरी का अध्यक्ष छन् । राज ब्रुअरी अधिग्रहणपछि उनी उक्त समूहसँग जोडिएका हुन् ।
अनुसन्धानका क्रममा शाहले ठूलो परिमाणमा उधारो कारोबार गरेको खुलेको छ । उनले भृकुटी स्टक ब्रोकिङ्ग मार्फत कारोबार गरी करिब ८९ करोड रुपैयाँभन्दा बढी रकम अझै भुक्तानी गर्न बाँकी रहेको पाइएको छ ।
त्यसैगरी, उनले नेपाल पुनर्बीमा कम्पनीको १० लाखभन्दा बढी कित्ता धितोपत्र करिब एक अर्ब ४१ करोड रुपैयाँमा खरिद गरेका थिए । तर त्यसको पूर्ण भुक्तानी नगरी कारोबार गरिएको देखिएको छ । अग्रिम रकम नदिई कारोबार सीमा प्रयोग गरी धितोपत्र खातामा राखिएको तथ्यसमेत फेला परेको छ ।
यस्तै, हिमालयन लाइफ इन्स्योरेन्स लगायतका संस्थामा पनि उनले ठूलो परिमाणमा लगानी गरेको देखिएको छ । अन्य व्यक्तिको नाममा समेत धितोपत्र खरिद गरिएको विवरण सार्वजनिक भएको छ ।
धितोपत्र बोर्डका अनुसार यस्तो गतिविधिले बजारमा कृत्रिम रूपमा मूल्य बढाउने, लगानीकर्तालाई भ्रममा पार्ने र समग्र धितोपत्र बजारलाई प्रभावित पार्ने काम गरेको निष्कर्ष निकालिएको छ ।
यस प्रकरणमा शाहमाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत बजार प्रभावित पार्ने तथा जालसाजीपूर्ण कारोबारसम्बन्धी कसूर लागेको छ । यस्तो कसूरमा जरिवाना, कैद वा दुवै सजायको व्यवस्था छ ।
याे पनि : सुलभबारे सेबोन प्रतिवेदन : कानून छल्न सिर्जना गरिएको अंशबण्डाको मिलापत्रमै प्रश्न




प्रतिक्रिया