रामेछाप – नेकपा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले नेकपा एमाले र नेपाली कांग्रेसबीचको सत्ता सहकार्यले राजनीतिक स्थिरता कायम गर्न मद्दत गरेको बताएका छन् ।
रामेछाप नगरपालिका–८ भंगरीमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले २ प्रमुख दलबीचको सहकार्यबाट मुलुकले १ वर्षभित्र उल्लेखनीय उपलब्धि हासिल गरेको बताए ।
जस्तोसुकै हल्ला भए पनि २ वर्षसम्म एमाले–कांग्रेसको सहकार्य यथावत् रहने उनको दाबी छ । कार्यक्रम नेकपा एमाले रामेछाप नगरपालिका कमिटीको व्यवस्थापनमा जिल्ला कमिटी र राष्ट्रिय जनसांस्कृतिक महासंघको सहकार्यमा आयोजना गरिएको थियो ।
भट्टराईले एमाले अहिले विधान महाधिवेशनको तयारीमा रहेको उल्लेख गर्दै नेता–कार्यकर्तालाई विधानमाथि गम्भीर छलफलमा सहभागी हुन आग्रह गरे । पार्टी सुदृढीकरणका लागि विधानको बहसलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता रहेको धारणा उनले व्यक्त गरेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुन: प्रवेशबारे पार्टीको केन्द्रीय कमिटीले स्पष्ट निर्णय गरिसकेको जानकारी दिँदै भट्टराईले भण्डारीको नाममा पार्टीमा अस्थिरता ल्याउने प्रयास विफल भएको दाबी गरेका छन् । एमाले बिग्रियोस् भन्ने तत्वहरूलाई पार्टी निर्णयले असफल बनाएको उनले बताए ।
भण्डारीले राष्ट्रपतिको पदमा रहँदा गरिमामय भूमिका निर्वाह गरेकाले उनको योगदानको पार्टीले उच्च सम्मान गर्ने उल्लेख गर्दै उनले संवैधानिक पदमा पुगेका व्यक्तिहरूले पुन: दलगत सक्रिय राजनीतिमा फर्किंदा संवेदनशीलता पैदा हुने हुँदा त्यसलाई उपयुक्त मान्न नसकिने बताए ।
राष्ट्रपतिको गरिमा जोगिनुपर्ने पार्टीको सोच अनुसार नै भण्डारीलाई राजनीतिमा नल्याउने निर्णय गरिएको उनले स्पष्ट पारे । भट्टराईले नेकपा एमालेसहित आजको कम्युनिष्ट आन्दोलनको जग नै पुष्पलाल श्रेष्ठले २००६ सालमा राखेको उल्लेख गरे ।
उनका अनुसार संसारभरि प्रतिकूल अवस्थामा अघि बढिरहेको कम्युनिष्ट आन्दोलनसँगै नेपालमा पुष्पलालले गम्भीर जोखिम मोलेर कम्युनिष्ट विचारको बीउ रोपेका थिए । पुष्पलालको योगदान विना अहिले एमालेजस्ता पार्टी हुने अवस्था नै नआउने धारणा उनले राखे ।
पुष्पलालसँगै गंगालालजस्ता समाज परिवर्तनका अगुवा नेताहरूको चेतना अझै सान्दर्भिक रहेको बताउँदै उनले ती नेताहरूको योगदानबाट भावी पुस्ताले पनि शिक्षा लिनुपर्ने बताए ।
ती नेताहरू स्वतन्त्रता, समानता र विकासको पक्षमा एकमत रहेको उल्लेख गर्दै उनले त्यसलाई आजको राजनीतिक शिक्षाको आधारका रूपमा लिनुपर्ने बताए । उनले पुष्पलालजस्ता सपुतहरूलाई बिर्सिनु अहिलेको पुस्ताको लागि अपमानजनक हुने बताउँदै त्यस्ता व्यक्तित्वहरूको सम्मान साथै जन्मथलोको विकासका लागि आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।




प्रतिक्रिया