काठमाण्डु – नेकपा एमालेका सचिव राजन भट्टराईले आगामी संसदीय निर्वाचनमा काठमाण्डु निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
शुक्रबार जारी मतगणनामा ठूलो मतान्तरले पछाडि परेका उनले अब उम्मेदवार नबन्ने घोषणा गरे ।
भट्टराईले यसपटक पनि अन्तिम समयमा मात्रै उम्मेदवारी दिने निर्णय गरेको बताए । काठमाण्डु–४ बाट उनले २ पटक हार व्यहोरिसकेका थिए । तर नेपाली कांग्रेसका सभापति गगन थापा काठमाण्डुबाहिर जाने भएपछि मात्रै उनी चुनावी मैदानमा होमिएका थिए ।
उनले भने, ‘म यहाँहरूका बीच सूर्य चिह्न लिएर निर्वाचनमा आएको थिएँ । तर यसपटक पनि यहाँहरूको विश्वास जित्न सकिनँ । लोकतन्त्रमा जनअभिमत नै अन्तिम र सर्वोच्च हुन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै यस निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्दछु । विजयउन्मुख मित्र तथा सम्बन्धित दललाई हार्दिक बधाई ज्ञापन गर्दछु । निर्वाचनका क्रममा सहयोग, साथ र समर्थन दिनुहुने पार्टीका कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
उनले राजनीतिमा पराजय अन्तिम सत्य नभएको हुँदा आत्मसमीक्षा र नयाँ पाठ सिक्ने अवसर पनि भएको बताए । ‘इतिहासले देखाएको छ, आत्मसमीक्षा, सुधार र जनतासँगको सम्बन्धलाई पुन: सुदृढ गर्दै अघि बढ्दा फेरि जनताको विश्वास जित्न सकिन्छ । लोकतान्त्रिक यात्रामा धैर्यता, आत्ममूल्यांकन र निरन्तरता सधैं महत्वपूर्ण रहन्छ । अन्त्यमा मेरो व्यक्तिगत निर्णय – आगामी कुनै पनि निर्वाचनमा म यस क्षेत्रबाट उम्मेदवार नबन्ने पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।’




प्रतिक्रिया