काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र नेपाल संघीय समाजवादी पार्टीबीच दुईबुँदे सहमति भएको छ ।
आसन्न राष्ट्रियसभा निर्वाचनलाई लिएर तीन दलबीच आइतबार दुईबुँदे सहमति भएको हो । सहमतिअनुसार नेपाल संघीय समाजवादी पार्टीले राष्ट्रियसभा निर्वाचनमा नेकपा–राजपा गठबन्धनका उम्मेदरवारहरुलाई समर्थन गर्नेछ ।
सहमतिको बुँदामा आगामी दिनमा पनि राजनीतिक रुपमा सहकार्य र सहयोग आदान–प्रदान कार्य जारी रहने उल्लेख छ ।
नेकपाका तर्फबाट महासचिव विष्णुप्रसाद पौडेल र कार्यालय सचिव श्रीराम पौडेल, राजपाका तर्फबाट संसदीय दलका नेता महन्थ ठाकुर र अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो, संघीय समाजवादीका तर्फबाट अध्यक्ष रिजवान अन्सारी र अनन्त राईको उपस्थितिमा दुईबुँदे सहमति भएको हो ।
नेकपा र राजपाले यसअघि नै चुनावी तालमेल गरेर प्रदेश २ का चार सिटमा २–२ उम्मेदवार उठाएका छन् । नेकपाले महिलातर्फ तुलसाकुमारी दाहाल र दलिततर्फ राधेश्याम पासवान तथा राजपाले अन्यतर्फ मृगेन्द्रकुमार सिंह यादव र अल्पसंख्यकतर्फ शेखरकुमार सिंहलाई उम्मेदवार बनाएको छ ।




प्रतिक्रिया