स्वास्थ्य सामग्रीमा अनियमितता गर्नेलाई कारबाही गर्न राजपाको माग


काठमाडौं – राष्ट्रिय जनता पार्टी राजपाले कोरोना भाइरस रोकथामका लागि ल्याइएका स्वास्थ्य उपकरण तथा सामग्रीमा भएको अनियमितता छानबिन गर्न माग गरेको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सामग्रीमा अनियमितता गर्नेलाई कारबाही गर्नसमेत माग गरेका छन् ।

‘यस्तो महामारीको बेलामा पनि सरकारद्वारा अत्यावश्यक स्वास्थ्य सामग्री अहिलेसम्म पनि पर्याप्त मात्रामा उपलब्ध गराउन नसक्नु दुःखद र गैरजिम्मेवारीको परकाष्ठा हो,’ भण्डारीले भनेका छन्, ‘खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचारको खबरले जनमानसमा अत्यन्तै खराब सन्देश गएकाले तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दछौं ।’

नेपाल-भारत सीमानाकामा नेपाली नागरिक अलपत्र परेकाले तत्काल नागरिकहरूलाई स्वदेश ल्याउने र स्वास्थ्य परीक्षण शंकास्पदलाई क्वारेन्टाइनमा राख्नसमेत राजपाले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement