काठमाडौं – बहुचर्चित कैलाली घटनाकाबारे सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न राष्ट्रिय जनता पार्टीले पुनः माग गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शुरुमै राजपाका नेता महेन्द्र यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गरेका हुन् ।
संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउन आवश्यक रहेको बताउँदै उनले आफूहरूको माग सम्बोधन नगरिए आगामी संसद्को बैठक अवरोध हुन सक्ने चेतावनी दिए ।
उक्त पार्टीले विगतदेखि सो प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएकामा सभामुखबाट दुई पटक रुलिङ भइसकेको छ, तर सरकारले प्रतिवेदन सार्वजनिक नगर्नु रहश्यपूर्ण रहेको राजपासम्बद्ध नेताहरुको धारणा छ ।
नेता यादवले भने, ‘नेपाली जनताको सार्वभौम अधिकार प्राप्त संसद् र सभामुखको रुलिङलाई सबैले मान्नुपर्थ्यो तर हामीले उठाएका विषयमा सभामुखबाट समेत दुई पटक रुलिङ भइसके पनि सरकारले बेवास्ता गर्दै प्रतिवेदन सार्वजनिक गर्न किन मानिरहेको छैन, हामी आश्चर्यमा छौँ ।’
प्रतिनिधिसभाको मंगलबारको बैठक प्रारम्भ हुनासाथ राजपाका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुखले नेता यादवलाई बोल्न समय दिएका थिए ।




प्रतिक्रिया