राजपालाई सरकारमा ल्याउने तयारी


काठमाडौँ – प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनको प्रतिबद्धतासहित राष्ट्रिय जनता पार्टीलाई समेत सरकारमा सहभागी गराउने पहल थालेको छ । त्यसका लागि दुवै दलका नेताबीच अनौपचारिक छलफल सुरु भएको छ ।

संसद्मा विश्वासको मत दिएलगत्तै संघीय समाजवादी फोरम र राजपालाई सरकारमा सहभागी गराउने प्रयास सुरु भएको थियो । तर संविधान संशोधनमा कुरा नमिल्दा फोरम र राजपा झन्डै तीन महिना सरकारमा सहभागी नभई बसेका थिए । गत साता फोरम सरकारमा सहभागी भएपछि राजपासमेत सरकारमा जान सक्ने गरी छलफलमा जुटेको छ ।

‘संविधान संशोधन कहाँबाट कसरी गर्न सकिन्छ भन्ने हिसाबले नेकपा र राजपाबीच घनीभूत छलफल भइरहेको छ, राजपालाई पनि सरकारमै सामेल गराएर लैजाने ढंगले लागेका छौं,’ नेकपा अध्यक्ष पुष्पकमल दाहालले आइतबार एक कार्यक्रममा भने, ‘संसद्मा रहेका सबैजसो दललाई समेटेर विकास र समृद्धिका लागि सबै सँगै हिँड्ने वातावरण तयार गर्दैछौं ।’ प्रधानमन्त्री केपी ओली र नेकपाका नेताहरूले राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसहित नेताहरूसँग कुरा गरेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement