सरकारद्वारा ८ देशमा गरिएको राजदूत सिफारिस सच्याउने संकेत

सरकारद्वारा ८ देशमा गरिएको राजदूत सिफारिस सच्याउने संकेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले विभिन्न ८ देशमा सिफारिस गरेका राजदूतको सूची सच्याउने संकेत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा बैठकमा मंगलबार सरकारले विभिन्न देशमा गरेको राजदूत सिफारिस सच्याउन सकिने बताएका छन्।

संसद्मा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले कमी, कमजोरी रहेको भए राजदूत सिफारिस सच्याउन सकिने बताएका हुन् ।

‘राजदूत नियुक्तिको सन्दर्भमा पार्टीले प्रस्तुत गर्दा मेरिटको आधारमा योग्य मान्छे प्रस्तुत गर्नुपर्‍यो। ताकि त्यसले देशको प्रतिष्ठाको लागि पनि, अन्य कामहरुमा पनि राम्रो योगदान गर्न सकियोस् भनिएको थियो,’ उनले भने।

विगतमा पनि राजनीतिक नियुक्ति गरिएका राजदूतहरू परिवर्तन गर्ने गरेको प्रसंग सुनाउदै प्रधानमन्त्री दाहालले अहिले पनि अयोग्य परेकहरू सच्याउन सकिने बताएका हुन् । प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसले विगतमा योग्य राजदूतको नाम दिएको भन्दै धन्यवादसमेत दिएका छन्।

‘मैले त्यतिखेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भनेको थिए, तपाईले योग्य मान्छे दिनुभयो। अहिले पनि मैले योग्य मान्छे दिनुपर्‍यो। मेरिटको आधारमा दिनुपर्‍यो भनेको हो। अब कति मेरिटमा परे, परेनन्। कतिको मेनपावरसँग छ, भन्ने जो प्रश्न उठेको छ, यो उठेका प्रश्नको सन्दर्भमा म सम्बन्धितहरुसँग छलफल गरेर यदी त्यहाँ केही कमी रहेछ भने सच्याइन्छ, यो विश्वास दिलाउन चाहन्छु,’ प्रधानमन्त्री दाहालले भने।

प्रधानमन्त्री दाहालले विगतमा राजनीतिक समीकरण परिवर्तन भएपछि हप्ता दिनभित्रै राजदूत फिर्ता बोलाउने प्रचलन भए पनि आफूले राजदूतहरुलाई तीन महिना काम गर्न दिएको बताएका छन्।

हालै सरकारले ११ देशका राजदूत फिर्ता बोलाएर ८ जना सिफारिस गरेको थियो। मन्त्रिपरिषद् बैठकले शुक्रबार भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, डेनमार्क, मलेसिया, स्पेन र साउदी अरबका लागि राजदूत नियुक्तिको सिफारिस गरेको हो ।

सरकारले भारतका लागि लोकदर्शन रेग्मी, अमेरिकाका लागि पूर्ववाणिज्यसचिव चन्द्रकुमार घिमिरे, बेलायतका लागि डा. विजन पन्त, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमिल्सिना, स्पेनका लागि डा. पुष्पराज राजकर्णिकार र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानको नाम सिफारिस गरेको छ ।

सरकारले कोरियाको राजदूतका सिफारिस गरेका प्याकुरेलले आफ्नो नाम फिर्ता लिन सरकारलाई औपचारिक आग्रह गरिसकेका छन् भने साउदी अरबको राजदूतमा सरकारबाट सिफारिस भएका अबुसुफ्यान खान मुसलमान गत जेठसम्म साउदी अरबमै श्रमिक पठाउने ‘ईशान ओभरसिज’का सञ्चालक भएको भन्दै विरोध भइरहेको छ । उनलाई राजदूत बनाएर पठाउँदा स्वार्थ बाझिने प्रमुख प्रतिपक्षी दल कांग्रेसले आवाज उठाउँदै आएको छ । मंगलबारको संसद् बैठकमा पनि कांग्रेसले मुसलमानबारे आवाज उठाएको थियो ।