प्रस्तावित राजदूत मिश्रको योजना सुनेपछि मिश्रमाथि खनिए सांसद

प्रस्तावित राजदूत मिश्रको योजना सुनेपछि मिश्रमाथि खनिए सांसद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारद्धारा प्रस्तावित राजदूत वंशीधर मिश्रका योजना सुनेपछि सांसदहरु उनीमाथि उल्टै खनिएका छन् ।

सुनुवाईका क्रममा प्रस्तावित राजदूत मिश्रले ‘एक प्रयास, तीन लाभ’को योजना सुनाएका थिए । जसमा ‘महाभारत श्रृंखलाका कयौं पहाड छन, जो भूगर्भविदको नजरमा त्यसलाई काट्न हुन्छ,’ उनको प्रस्ताव थियो, ‘त्यसलाई काटेर चुरेमा रहेका बस्ती अन्तै सार्ने र त्यो ढुंगा बंलादेशलाई निर्यात गर्ने ।’
संसदीय सुनुवाई विशेष समितिमा सांसद भीमसेनदास प्रधानले प्रस्तावित राजदूत मिश्रको योजना नबुझेको भन्दै चुरे बचाउन लागिपर्नुपर्ने बताए ।

सांसद प्रधानले सोही योजना आफूले नबुझेको भन्दै यस्ता कुरामा व्यापारका दृष्टिले मात्रै हेर्ने नभई वातावरणीय दृष्टिले हेर्नुपर्ने र चुरे कटान होइन बचाउन तर्फ लाग्नुपर्ने बताए ।

अर्का सांसद राजेन्द्र श्रेष्ठले पटक–पटक सांसद भएको र राजनीतिमा सक्रिय भएको मान्छे राजनीतिमै रहेको भए बेस हुने बताए । चुरेलाई खाली बनाउने र त्यहाँको पहाड काटेर ढुंगा बेच्ने योजना सही नभएको टिप्पणी गरे ।

‘चुरेलाई खाली बनाउने भन्ने प्रस्ताव उहाँको छ, यो उपयुक्त हो त ?,’ श्रेष्ठले प्रश्न गरे । ‘यस्तो कुरा राखिहाल्नु हुन्न भन्ने मेरो प्रस्ताव हो । यहाँको ढुंगा बेचेर चुरे खाली बनाउने कुरा व्यवहारिक लागेन ।’

सांसद जितेन्द्रनारायण देवले उत्ताउलो हुन नहुने, कम बोल्नुपर्ने र धेरै सुन्नु पर्ने लगायतका गुण राजदूतलाई आवश्यक हुने भन्दै सुझाव दिए । र, त्यसपछि चुरेकै विषयमा राखेको प्रस्तावलाई लिएर मिश्रको आलोचना गरे ।

उनले सरकार र मुख्य राजनीतिक दलले समेत बोली नसेको विषय कोट्याउनु आवश्यक नरहेको बताए । ‘सरकार, मुख्य राजनीतिक पार्टीले बोली नसकेको विषयलाई दस्तावेजीकरण गर्नु हुँदैन,’ उनको भनाइ थियो, ‘नेपालले धरणा नबनाइसकेको विषयलाई कोट्याउनु हुँदैन ।’

सांसद सुरेन्द्र पाण्डेले धेरै विषयमा प्राथमिकता छरिएको भन्दै स्पष्ट किटान गर्नुपर्ने सुझाए ।

सांसदको आलोचनाले तातिएको महोल सांसद पार्वत गुरुङको ठट्टा मिश्रित प्रश्नले शान्त बनाइदियो । ‘तपाई सांसद पनि हुनुभयो । रमाइलो सांसद हुँदा रहेछ कि राजदूत बन्दा ?,’ उनको प्रश्न थियो ।