काठमाण्डु – सरकारले राजनीतिक आधारमा नियुक्त भएका ३३ देशमध्ये १२ देशका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका निर्णय उल्ट्याउदै राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
सरकारको निर्णयसँगै परराष्ट्र सेवा बाहिरबाट नियुक्त भएका राजदूतहरु शर्मिला पराजुली ढकाल ओमान, कतारका नारद भारद्वाज, भारतका नीलाम्वर आचार्य, चीनका महेन्द्रबहादुर पाण्डे, दक्षिण अफ्रिकाका निर्मल विश्वकर्मा, जापानकी प्रतिभा राणा, बंगलादेशका डा वंशीधर मिश्र, मलेशियाका उदयराज पाण्डे, स्पेनकी दावा फुटी शेर्पा, अमेरिकाका युवराज खतिवडा, इजरायलकी अञ्जान शाक्य, बेलायतका लोक लोकदर्शन रेग्मी फिर्ता हुनेभएका छन् ।
यो निर्णयले सरकारभन्दा अघिल्लो पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेका दुई राजदूत राणा र ढकाल पनि फिर्ता हुने भएका छन् । तत्कालिन केपी ओली सरकारले यी दुई राजदूतको कार्यकाल थप गर्दै अर्को व्यवस्था नहुञ्जेलसम्म निरन्तरता दिने निर्णय गरेको थियो । हाल अस्ट्रेलिया, बहराइन, डेनमार्क, इजिप्ट, म्यान्मार, रुस, साउदी अरब र श्रीलंकामा राजदूत खाली रहेको छ ।
प्रतिपक्षीको विरोध
केपी ओली नेतृत्वको सरकारले नियुक्ती गरेका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय सरकारको अपरिपक्कता पुष्टि भएको प्रतिपक्षले आरोप लगाएको छ । नेकपा एमालेका विदेश विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री ओलीका परराष्ट्रमामिला सल्लाहकार डा. राजन भट्टराईले सरकार कूटनीतिमा असफल बन्दै जान थालेको बताएका छन् । एकैपटक छिमेकी मुलुकसहित प्रमुख देशबाट राजदूत फिर्ता बोलाएर राजनीतिक दुश्मनि साँधेको प्रतिकृया दिएका छन् ।
मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको सरकारले कूटनीतिक क्षेत्रमा अनावश्यक हस्तक्षप गरेको आरोप लगाएका छन् । राजदूतहरूको मूल्यांकन कामका आधारमा हुनुपर्नेमा उनको जोड छ ।
‘सरकारले एकैपटक दुई छिमेकी र महत्वपूर्ण मुलुकमा राजदूत पद खाली गरेर कच्चा र अपरिपक्व काम गरेको छ । यस्तो गर्नु हुँदैनथ्यो । सरकारको यो निर्णयले मुलुकको छवि बिग्रिने स्थिति आएको छ ,’ डा. भट्टराईले भने ।
परराष्ट्रबाट १० राजदूत
सरकारले नियुक्त गरेका मध्ये परराष्ट्र सेवाबाट राजदुत बनेकाको बिषयमा भने कुनै निर्णय भएको छैन । परराष्ट्र सेवाबाट १० जना राजदूत बनेका छन् । जसमध्ये युएईका लागि कृष्णप्रसाद ढकाल, राष्ट्रसंघीय स्थायी नियोगका लागि अमृतबहादुर राई, थाइल्याण्डका लागि गणेशप्रसाद ढकाल, पाकिस्तानका लागि तापस अधिकारी, स्वीटजरल्याण्डका लागि मणिप्रसाद भट्टराई, क्यानडाका लागि भृगु ढुंगाना, फ्रान्सका लागि दीपक अधिकारी, जर्मनीका लागि रामकाजी खड्का, कुवेतका लागि कृष्णप्रसद भण्डारी र बेल्जियमका लागि गेहेन्द्र राजभण्डारी राजदूत रहेका छन् ।
नियुक्तीमा छैन् सुरसार
राजदूत फिर्ता बोलाउनु अघि नयाँ राजदूत को टुङ्गो लगाउने परम्परा भएपनि सरकारले परम्परा तोडेको जानकारहरु बताउछन् । रिक्त रहेका देशमा राजदूत नियुक्तीका लागि केही समय कुर्नुपर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलहरुसँग छलफल गरे मात्रै सिफारिस गर्नुपर्ने भएकाले समय लाग्ने भएकाले हो ।
परराष्ट्रमन्त्री नारायण खड्काले राष्ट्रसंघीय महासभामा भाग लिएर स्वदेश फर्किएपछि राजदूतहरु सिफारिस गर्ने बताए । ‘म फर्केर आएपछि मात्र कुन देशमा कस्तो व्यक्ति पठाउने र साझा हित हेरेर राजदूत पठाउँछौं’ उनले भने ।
उनले राजदूत सम्बन्धित देशको संस्कृति, संस्कार जानेको, अन्तर्राष्ट्रिय भाषाको ज्ञान चाहिने बताए । मन्त्री खड्काले राजदूत छनोट गर्दा धेरै कुराहरुमा ध्यान दिनुपर्ने बताए ।
‘राजदूत भनेको दलीय हिसाबमा कुनै खास विशेष आधारमा नियुक्त गरेर पठाउने होइन । कुनै देशमा हामी राजदूत पठाउँछौँ भने त्यो देशको संस्कृति, संस्कार जानेको, अन्तर्राष्ट्रिय भाषाको ज्ञान चाहियो नै ! र, कूटनीतिक अवस्थालाई थाहा पाएर नेपालको हितलाई प्रवर्द्धन गर्न सक्ने विश्वास र क्षमता भएको साथी हो । त्यस्तो खालका साथीहरुलाई राजदूत बनाउँदा हुन्छ, ’ मन्त्री खड्काले भने, ‘टेबलमा खाना खाँदा काँटाचम्चा चलाउनेदेखि लिएर ड्रेस कोड बुझेको, धेरै धेरै कुराहरु जानेको मान्छे हुनुपर्छ । कतिपय ठाउँमा लबी गर्नुपर्ने हुन्छ, डिप्लोमेटिक मेटिङहरुमा जानुपर्ने हुन्छ । यी सबै सीप भएका व्यक्तिहरुलाई सिफारिस गर्दा राम्रो हुन्छ भन्ने मेरो विचार हो ।’
देउवा पाँच दलीय गठबन्धनको सहयोगमा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । सरकारको नीति तथा कार्यक्रममा सहमतिका आधारमा विभिन्न राजनीतिक नियुक्ती गर्ने उल्लेख छ । सोही बमोजिम पाँच दलबाट प्रतिनिधित्व हुनेगरी राजदूत नियुक्त हुने स्रोतले जानकारी दियो ।
सरकारले कूटनीतिक क्षेत्रमा अनावश्यक फेरबदल गर्दा अन्तराष्ट्रिय समुदायमा गलत सन्देश जाने परराष्ट्र मामिलाका जानकारहरु बताउछन् । पूर्व तयारी विना नै रादूत फिर्ता बोलाउदा ती देशहरुसंगको सम्बन्ध सृढिण हुन नसक्ने उनिहरुको तर्क छ ।




प्रतिक्रिया