काठमाडौं – बहराइनमा रहेका सबै नेपालीहरु स्वस्थ्य रहेको बहराइनस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासले एक विज्ञप्ती जारी गर्दै बहराइनमा अहिलेसम्म कुनै नेपालीमा पनि कोरोना संक्रमण नदेखिएको जानकारी दिएका हुन् ।
बहराइनमा ३५ हजार नेपाली श्रमिक कार्यरत रहेपनि हालसम्म कुनै नेपालीलाई कोरोना संक्रमण नभएको राजदूत पदम सुन्दासले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
बहराइनमा ३८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ भने २० भन्दा बढी शंकास्पदहरुलाई क्वारेन्टाइनमा राखिएको छ । बहराइन भूगोलको हिसाबले सानो भएकाले पूरै देश कोरोना संक्रमणको उच्च जोखिममा छ ।
दूतावासको सहयोगमा बहराइनको स्वास्थ्य मन्त्रालयले नेपाली भाषामै कोरोना सम्बन्धी विभिन्न निर्देशनहरु जारी गरेको छ ।
श्रम महिला मन्त्रालयका एसिस्टेण्ट अण्डर सेक्रेटरी एच इ अहमेड ज अल हाइकीसँग दूतावासले भेट गरी कोरोनाबारे नेपालीलाई सहयोग गर्न आग्रह गरेको पनि सुन्दासले जानकारी दिए ।
भेटमा बजारमा सर्जिकल मास्कसमेत उपलब्ध नभएको जानकारी दिएपछि मन्त्रालयले नेपाली कामदारलाई मास्क उपलब्ध गराउने प्रयास जारी राखेको जानकारी दिएका थिए ।
राजदूतावासले फेसबुक र दूतावासको वेभसाइटमार्फत विभिन्न जानकारीहरु दिइरहेको भन्दै राजदूत सुन्दासले कामदारलाई नआत्तिन आग्रह गरेका छन् ।




प्रतिक्रिया