सरकारले सत्ता टिकाउनका लागि मात्र विदेशसँग सम्बन्ध राख्छ : अध्यक्ष लिङ्देन


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले सत्ता टिकाउनका लागि मात्र विदेशसँग सम्बन्ध राख्ने गरेको आरोप लगाएका छन् ।

मंगलबार काठमाण्डुमा आयोजित नेपालको परराष्ट्र नीतिः विगत, वर्तमान र भविष्य विषयक विचार गोष्ठीमा अध्यक्ष लिङ्देनले अहिले नेपालको परराष्ट्र नीति नै नभएको भन्दै सरकारले सत्ता टिकाउनका लागि मात्र विदेशसँग सम्बन्ध राख्ने गरेको आरोप लगाए ।

‘अहिले नेपालको परराष्ट्र नीति छैन भने पनि हुन्छ । सरकारले त्यस देशसँग राखेको सम्बन्ध त आफ्नो सत्ता कसरी टिकाउने, यस्तो घिनलाग्दो कि एउटा देशसँग लिने ऋण सहयोग पनि पार्टीको व्यक्तिको लाभसँग गाँसेर लिने गरेपछि त्यो देशसँग कस्तो सम्बन्ध हुन्छ ? देशका प्रमुख दलहरूको विदेश सम्बन्ध सत्ता केन्द्रित सम्बन्ध छ,’ उनले भने ।

अध्यक्ष लिङ्देनले सत्तामा भएकाहरूले सबैलाई खुसी पार्ने नाममा देशलाई भद्रगोल बनाएको बताए । ‘सत्तामा बस्ने मानिस के भन्छन् भने, विदेशीको कुरा काट्न सक्दैनौ भन्छन् । उनीहरूले कूटनीतिक भाषामा अन्तर्राष्ट्रिय सम्बन्धमा ईग्नोर गरेर जान सक्दैनौ भन्छन् र सबैलाई खुसी पार्ने नाममा अहिले भद्रगोल सिर्जना भएको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement