काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय महाधिवेशन मंसिर २६–२८ गते काठमाण्डुमा आयोजना गर्ने निर्णय गरेको छ ।
केन्द्रीय समितिको शुक्रबार र शनिबार बसेको बैठकले महाधिवेशनको मिति तोकेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । बैठकले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङ्देनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।
समितिमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, केन्द्रीय सदस्य, सल्लाहकार समिति, विभिन्न विभागका प्रमुख, प्रदेश तथा जिल्ला अध्यक्ष, संघीय र प्रदेश सांसद तथा भ्रातृ संगठनका अध्यक्षहरू सदस्य रहनेछन् । आवश्यकताअनुसार विभिन्न उपसमितिहरू गठन गर्ने अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई दिएको अध्यक्ष लिङ्देनले जानकारी दिए ।
बैठकले केन्द्रीय निर्वाचन समितिले प्रस्तुत गरेको सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धी नियमावली तथा पार्टी निर्वाचन निर्देशिकालाई परिमार्जनसहित पारित गरेको छ । पारित कार्यतालिकाअनुसार आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्नेछ ।
सक्रिय सदस्यता वितरण अभियानलाई पनि भदौ मसान्तसम्म सञ्चालन गरिने उनले बताए । भदौभित्र सक्रिय सदस्यता प्राप्त गरेका सदस्यहरू मात्र महाधिवेशन प्रतिनिधिको मतदाता तथा उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको छ ।
भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गरेका जिल्लाहरू मात्र केन्द्रीय महाधिवेशनमा सहभागी हुन योग्य हुने अध्यक्ष लिङ्देनले जानकारी दिए ।
असोज १५–२४ गतेभित्र ७ वटै प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गर्ने राप्रपाले निर्णय गरेको छ । कात्तिक ११–३० गतेसम्म प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिहरूले सक्रिय सदस्यहरूमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्नेछन् । छनोट भएका प्रतिनिधिहरूको विवरण मंसिर ७ गतेभित्र केन्द्रीय निर्वाचन समिति र पार्टी केन्द्रीय सचिवालयमा पठाउनुपर्नेछ ।
प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा युवा प्रतिनिधित्व सुनिश्चित गरिने व्यवस्था पनि गरिएको छ ।




प्रतिक्रिया