काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकाको भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।
युएस आर्मीका प्रमुखको निमन्त्रणामा कात्तिक ६ गते अमेरिका गएका क्षत्रीले ग्लोबल चिफ अफ डिफिसेन्स काउन्ट्रिङमा सहभागी भएका थिए।
भ्रमणको क्रममा कन्फरेन्समा सहभागी भएका विभिन्न सेना प्रमुख तथा उच्च स्तरीय सैनिक पदाधिकारीहरूसँग समेत भेटघाट गरी आपसी हितका विषयमा छलफल गरेका थिए।
प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष पूर्णचन्द्र थापाले स्वागत गरेका थिए। साथै, नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेका थिए। उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द, काठमाण्डौस्थित विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारीहरु तथा नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो।
उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र अमेरिकालगायत अन्य सहभागी देशका सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।




प्रतिक्रिया