काठमाडौं – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि परेको उजुरीबारे छलफल गर्न रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा र रक्षा सचिव रेश्मीराज पाण्डेलाई बोलाउने भएको छ ।
शुक्रबार बसेको समिति बैठकले पूर्व सेनापति क्षेत्रीले सैनिक मुख्यालय बनाउँदा र राष्ट्रिय गौरवको आयोजना काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणमा घोटाला गरेका सत्यतथ्य बाहिर ल्याउने तयारी स्वरुप उनीहरुलाई बोलाउने निर्णय गरेको हो ।
समिति सदस्य डा. डिला संग्रौला पन्तले रक्षामन्त्री, प्रधानसेनापति र रक्षासचिवलाई बोलाउने निर्णय गरेको जानकारी दिइन् । ‘आज बसेको समिति बैठकले उहाँहरुलाई बोलाउने निर्णय गरेको छ’, काठमाडौंपाटीसँग कुरा गर्दै उनले भनिन्, ‘यही मितिमा बोलाउने भन्ने टुंगो लागिसकेको छैन् । समय मिलाएर समितिमा बोलाउने छौं ।’
आफ्नो कार्यकालमा क्षेत्रीले अकुत सम्पत्ति जोडेको भन्ने उजुरी संसदीय समितिमा परेको थियो । बिहीबार समितिले गठन गरेको कार्यदलले पूर्वप्रधानसेनापति क्षेत्रीले पदमा रहँदा गरेको अनियमितता र भ्रष्टाचारको छानबिन गर्नुपर्ने भन्ने उजुरीलाई समितिमा पेश गरेको थियो ।




प्रतिक्रिया