काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनःस्थापित गरेर कार्यकारी अधिकार निर्वाचित प्रधानमन्त्रीलाई दिनुपर्ने बताएका छन् ।
राप्रपा लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेका बृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले वर्तमान संघीयता असफल रहेको भन्दै प्रदेश व्यवस्था खारेज गर्नुपर्ने, संसद्लाई पुनः समानुपातिक बनाउने तथा निर्वाचित प्रधानमन्त्रीलाई २ कार्यकालसम्म सीमित गर्नुपर्ने बताए ।
ठूला पार्टी मिलेर बनेको सरकारले आशा जगाउने कुनै काम नगरेको उनले बताए । मुलुकलाई स्थायित्व दिनका लागि भन्दै ठूला दल मिलेर बनेको सरकारको ७ महिनामा जनतामा आशा जगाउने कुनै काम गर्न नसकेको उनले बताए ।
यसअघिदेखि गर्दै आएको भ्रष्टाचारलाई संस्थागत र संरक्षण गर्ने तथा पहिले गरेको भ्रष्टाचारका कारण कारबाहीमा परिन्छ कि भन्दै आवश्यक कानून बनाएर जोगिनका लागि वर्तमान गठबन्धन बनेको उनले आरोप लगाए ।
अध्यादेशबाट देश चलाउन खोज्ने प्रयास असफल हुन थालेपछि सत्तारुढ दलहरू सांसद किनेर अध्यादेश पास गराउने खेलमा रहेको उनले बताए । अब अहिलेको व्यवस्था कुनै हालतमा काम नलाग्ने उनले बताए ।




प्रतिक्रिया