निर्वाचन आयोगले पार्टी फुटाउँदैमा फुट्दैन, जनता साथमा छन्ः राजेन्द्र महतो


काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फुटाउने काम गरेको बताएका छन् ।

सोमबार आयोग परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेता महतोले निर्वाचन आयोगले हेड काउण्ट गरेर पार्टीलाई विभाजन गर्ने तयारी गरेको बताएका हुन् । उनले आयोगले पार्टी फुटाउँदैमा नफुट्ने भएकाले जनताबाट पार्टी निर्माण हुने बताए ।

‘निर्वाचन आयोगले पार्टी फुटाउँदैमा फुट्दैन । यो ५१ जनाको मात्रै पार्टी होइन । अब हामी जनताको माझमा जान्छौं । जनता हाम्रो साथमा छन्,’ नेता महतोले भने ।

उनले पार्टी विभाजनले कुनै असर नपार्ने बताएका छन् । प्राविधिक कारणले आफूहरु अल्पमतमा परेपनि केहीसमयपछि बहुमत पुग्ने उनले दाबी गरे । नेता महतोले आफूहरुका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवा दुवै समान भएको बताए ।

‘हाम्रा लागि उनीहरु दुवै प्रतिगमनकारी नै हुन् । केपी ओलीलाई पनि मद्दत गरेका थियौं, देउवालाई पनि,’ उनले भने, ‘तत्कालीन समाजवादी पार्टी फुट्ने बेलामा हामीले पार्टी एकता गरेर उपेन्द्र यादवलाई मद्दत गरेका थियौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement