काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गरेका छन ।
मंगलबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले न्यायिक विचलनको आरोप लागेका प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् ।
न्यायालयमा भइरहेको आन्दोलनको जिम्मा प्रधानन्यायाधीश राणाले लिनुपर्ने भन्दै उनले भने, ‘न्यायालयको गरिमा बचाउन पनि प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्छ ।’
जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतकै न्यायाधीशहरू आन्दोलनमा रहेका बेला सत्तारुढ र विपक्षी दलहरू भने मौन बस्दै आएका छन् ।
राजनीतिक दलहरु न्यायालयले नै यसको निकास खोज्नुपर्ने भन्दै बसिरहेका बेला न्यायालयबारे नेता महतोले मुख खोलेका हुन् ।
यता पूर्वन्यायाधीशहरूले पत्रकार सम्मेलन नै गरेर जबरालाई महाअभियोग लगाउन माग गरिसकेका छन् भने नेपाल बार एसोसियसनले २३ दिनदेखि इजलास बहिस्कार गर्नेदेखि लगातार आन्दोलन गर्दै आइरहेको छ ।




प्रतिक्रिया