प्राकृतिक स्रोतसाधनको उचित उपयोग भए नेपाल विश्वकै धनी हुन्छ : महतो

प्राकृतिक स्रोतसाधनको उचित उपयोग भए नेपाल विश्वकै धनी हुन्छ : महतो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा गरिएको छ ।

बिहीबार राजधानी काठमाण्डुमा आयोजित एक कार्यक्रममार्फत दुवै पार्टीले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले देशको पछिल्लो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वर्तमान शासन प्रणाली र प्रमुख राजनीतिक दलहरूप्रति आक्रोश व्यक्त गरे । उनले भने, ‘देश बन्छ कसरी ? दुनियाँको कंगाल राष्ट्र बनिसक्यो नेपाल । प्रकृतिको सबै सम्भावना हुँदाहुँदै पनि हामीले देश डुबायौं ।’

महतोले नेपालको प्राकृतिक स्रोतसाधनको उचित उपयोग भएको भए आज नेपाल विश्वकै धनी राष्ट्र बन्न सक्ने दाबी गरे । ‘प्रकृतिले दिएको हरेक कुराको सही प्रयोग भएको भए, दुनियाँको सबैभन्दा सम्पन्न राष्ट्र नेपाल हुन्थ्यो,’ उनले भने ।

वर्तमान नेतृत्वलाई देशको पछिल्लो दुर्दशाका लागि जिम्मेवार ठहर गर्दै प्रमुख ३ दल कांग्रेस, एमाले र माओवादीप्रति उनले आक्रोश पोखे । ‘राजापछि यिनै पार्टीहरूले देश चलाए । देश बनेन भने यसको जिम्मा कसले लिन्छ ?’ भन्दै उनले प्रश्न गरे ।

महतोले लोकतन्त्रको नाममा लुटतन्त्र मौलाएको आरोप पनि लगाए । उनले देशको लाखौं युवा रोजगारीको खोजीमा विदेशिनु परेकोप्रति चिन्ता व्यक्त गर्दै ५० लाखभन्दा बढी युवाहरू देश छाडेर भागिरहेको बताए ।

उनले भने, ‘आज के भएको छ ? जन्मिँदैखेरी लाखौं रुपैयाँ ऋण हाम्रो टाउकोमा लिएर जन्मिनुपर्ने कस्तो देश बनायौं हामीले । यो देशमा हाम्रो सन्तानले बस्न चाहेको छैन । ५०औं लाख जवान युवाहरू देश छाडेर भागिरहेका छन् ।’

यसैगरी, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष अशोक राईले अहिले पनि हाम्रो मुलुकमा संघीयता, लोकतन्त्र र गणतन्त्र ३ वटै क्षेत्रमा प्रहार गर्ने शक्तिहरू कायम नै रहेको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अहिले पनि धावा बोल्ने अवस्था रहेको भन्दै खतराबाट मुक्त भइनसकेको उनले बताए ।

उनले भने, ‘अहिलेको अधिकार प्राप्तिका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने, प्राप्त उपलब्धिलाई सुरक्षा गर्ने, थप उपलब्धिलाई प्राप्त गर्नका निम्ति संघर्ष गर्ने बाटो नै सही हो । अहिले पनि हाम्रो मुलुकमा संघीयता, लोकतन्त्र र गणतन्त्र ३ वटै क्षेत्रमा प्रहार गर्ने शक्तिहरू कायम नै छन् । यो खतराबाट मुक्त भएका छैनौं । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अहिले पनि धावा बोल्ने अवस्थाहरू छँदैछन् ।’