काठमाडौं – जनता समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले वर्तमान सरकार दुई तिहाई बहुमतको सरकार नभएर दुई कौडीको पनि नभएको टिप्पणी गरेका छन् ।
संसदको छैटौं अधिवेशन अर्थात वजेट अधिवेशन सुरु भएलगत्तै सम्बोधन गर्दै सांसद महतोले वर्तमान सरकारले जनताको पक्षमा काम नगरेको आरोप लगाएका छन् ।
उनले भने,‘बरु, यो सरकार गुण्डा लगाएर सांसद अपहरण गर्छ । कुन बेला कसलाई मुद्दा लगाएर भित्र हाल्छ थाहा छैन् । कुर्सी पाउन र जोगाउन चाहीँ यो सरकार सिपालु रैछ । त्यसको लागि त रातोरात काम गर्दोरैछ ।’
जनताले संकटमा परेको बेला सरकार खोजेको भए पनि त्यो पाउन नसकेको महतोले बताए । जनताले राहत प्याकेज खोजिरहेका बेला सरकारले पार्टी फुटाउने अध्यादेश ल्याएर सरप्राइज दिएको बताए ।
उनले भने, ‘हामीले पनि यो सरप्राइज चाहिँदैन भनेर रातारात राजपा र समाजवादीको पार्टी एकता गरेर सरप्राइज देखाइदियौं ।’




प्रतिक्रिया