मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत, एमालेले विपक्षमा मतदान गर्ने

मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत, एमालेले विपक्षमा मतदान गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत मागेका छन् । प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री पाण्डेले आफूलाई विश्‍वासको मत दिन आग्रह गरेका हुन् ।

एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बनेका थिए ।

एक महिनाभित्र प्रदेशसभाबाट विश्‍वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले सोमबार विश्‍वासको मत मागेका हुन् ।

यता नेकपा एमालेले बागमती प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । एमाले सांसद दीपक निरौलाले आफूहरुले विश्वासको मत नदिने स्पष्ट पारेका हुन् ।

‘यो गठबन्धन अप्रजातान्त्रिक, अप्राकृतिक र असंवैधानिक हो। त्यसकारण यो असंवैधानिक प्रक्रियाबाट जन्मिएको सरकारलाई विश्वासको मत दिइराख्नुपर्ने हाम्रो दलले आवश्यकता ठानेको छैन’, उनले भने, ‘यसर्थ, हामी हाम्रो दलको तर्फबाट यो सरकारलाई विश्वासको मत जाहेर गर्न नसक्ने व्यहोरा निवेदन गर्दछु ।’

नेमकिपाले भने कसैको पक्ष र विपक्षमा मतदान नगर्ने भएको छ । नेमकिपाका सांसद सुरेन्द्र राज गोसाईले आफूहरु तटस्थ बस्ने निर्णय गरेको जानकारी दिए । त्यस्तै विवेकशील साझा पार्टीले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने भएको छ ।

बागमतीमा हाल १०९ प्रदेशसभा सदस्य रहेकोमा विश्वासको मतका लागि बहुमत ५५ जना सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा एमालेको ४३, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई/दुई, जनता समाजवादी पार्टी नेपालको एक जना सांसद छन् ।