काठमाण्डु– राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुयाँलले सांसद् आफैंले नभई संसद् सचिवालयमार्फत स्वकीय सचिव नियुक्ति गर्दा राम्रो हुने सुझाएका छन् ।
सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सामाजिक सञ्जालमार्फत सुझाव दिँदै फुयाँलले सभामुख नेतृत्वको सचिवालय व्यवस्थापन समितिले योग्यता, मापदण्ड र आचारसंहिता जारी गर्ने र सम्बन्धित सांसदको सिफारिसमा सचिवालयले करारमा स्वकीय सचिव नियुक्त गर्दा उपयुक्त हुने उपाय सुझाएका हुन् ।
त्यसरी नियुक्त भएका स्वकीय सचिवहरुलाई संसद् सचिवालयले विधायकी प्रक्रिया, मर्यादा र आचारसंहिताबारे तालिम दिने र त्यसको अनुगमन तथा मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदको स्वकीय सचिव नियुक्तिमा नातावाद निषेध गर्न र पारदर्शिता अपनाउन आफ्ना सांसदहरूलाई निर्देशन दिएछ’, फुयाँलले लेखेका छन्, ‘गर्नुपर्ने कुरा चाहिँ सभामुख नेतृत्वको सचिवालय व्यवस्थापन समितिबाट स्वकीय सचिव नियुक्तिको योग्यता, मापदण्ड र आचारसंहिता जारी गर्ने, तदनुरूप सांसदको सिफारिसमा संसद् सचिवालयले करार नियुक्ति दिने, विधायकी प्रक्रिया, मर्यादा र आचारसंहिताबारे तालिम दिने र त्यसको अनुगमन तथा मूल्याङ्कन गर्ने ।’
रास्वपा महामन्त्री विपिनकुमार आचार्यले सांसदहरूलाई आन्तरिक निर्देशन जारी गर्दै परिवार र आफन्तहरूलाई स्वकीय सचिव नराख्न शुक्रबार दिर्नेशन दिएका छन् ।
‘स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप एकाघरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ,’ निर्देशनमा भनिएको छ, ‘यो नियुक्ति पारिवारिक र नातागोताको परिधिभन्दा बाहिरबाट मात्र हुनुपर्नेछ ।’
मन्त्रिपरिषदले केही समयअघि सांसदहरुका लागि राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) सरह सरहको सुविधा पाउने गरी स्वकीय सचिव राख्ने निर्णय गरेको थियो । रास्वपाले आफ्नो पूर्वप्रतिबद्धताविपरीत राज्य कोषको दोहन हुने गरी सांसदलाई स्वकीय सचिव राख्न लागिएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।




प्रतिक्रिया