काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आन्तरिक विवाद बढ्दै गएको छ । कोशी प्रदेश सभामुखको विषयलाई लिएर राप्रपाभित्र खटपट बढ्दै गएको हो ।
पार्टी केन्द्रीय समितिका पदाधिकारीबीच पार्टी सरकारमा सहभागी नहुने भन्ने अनौपचारिक सहमति भए पनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितको सहभागितामा कोशी प्रदेशमा अम्बरबहादुर विष्टलाई सभामुख बनाएपछि राप्रपाका केही नेता रुष्ट बनेका छन् ।
बागमती प्रदेशमा सभामुख हुँदा कोशीमा किन नहुने भन्ने एकाथरीको बुझाइ छ भने अर्काथरीका नेताले पार्टी सरकारमै भएको अवस्थामा बागमतीमा गठबन्धनभित्रको सहमतिअनुसार सभामुख लिएको र अहिलेको अवस्थामा भागबन्डामा पदीय जिम्मेवारी लिन नहुने बताउदै आएका छन् ।
त्यस्तै सोही विषयलाई लिएर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीच टकराब सुरु भएको छ। कोशीमा गत पुस २४ गते विष्टलाई सभामुख बनाउने निर्वाचन प्रक्रिया चलिरहँदा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा निर्देशन समितिले उम्मेदवारी फिर्ता लिन निर्देशन जारी गरेको थियो । तर, उक्त निर्देशनबारे राप्रपाले पार्टीमा अहिलेसम्म औपचारिक निर्णय लिएको छैन ।
मिश्रले निर्देशक समितिको निर्देशनअनुसार पार्टीले कोशी प्रदेशमा सभामुख बनेका विष्टलाई फिर्ता बोलाउनुपर्ने जिकिर गर्दै आएका छन्। तर, अध्यक्ष लिङ्देन भने विष्टलाई सभामुखबाट फिर्ता नबोलाउने पक्षमा छन् । लिङ्देन पछिल्लो समय सत्ता गठबन्धनसँग नजिकिएका छन् । त्यसकारण पार्टीभित्र विष्टलाई सभामुखबाट फिर्ता बालाउने आवाज उठेपछि उनी बेवास्था गरिरहेका छन् । आफूले भनेको अध्यक्ष लिङ्देनले नटेरेपछि मिश्र असन्तुष्ट बनेका छन् ।




प्रतिक्रिया