काठमाण्डु – प्रदेश १ को मुख्यमन्त्रीका लागि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन् । राईले सोमबार प्रदेशप्रमुख सोमनाथ अधिकारी ‘प्यासीसमक्ष ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका हुन् ।
मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि रिक्त पदका लागि प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
प्रदेश प्रमुखबाट दाबी पेस गर्न आह्वान भएलगत्तै राईले गठबन्धनमा आवद्ध पाँच दलका ४९ जना सांसदहरुको हस्ताक्षरसहित दाबी पेस गरेका हुन् ।
९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ जना सांसदको समर्थन आवश्यक हुन्छ । यसअघि ५० जनासांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताइए पनि एक जना सांसद काठमाण्डुमा रहेका कारण ४९ जनाको मात्र हस्ताक्षर पेस गरिएको हो ।
प्रदेशसभामा नेकपा एमालेको ४१ सांसदमात्र छन् । उता नेपाली काँग्रेसको २१, माओवादी केन्द्रको १५, नेकपा एकीकृत समाजवादीको १०, जसपाका तीन सांसद छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका एक सांसद छन् ।




प्रतिक्रिया