काठमाण्डु– बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले पनि राजीनामा दिएका छन् ।नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्काले सोमबार साँझ मुख्यमन्त्री बहादुर सिंह लामालाई राजीनामा बुझाएका हुन् ।
बागमतीमा राजीनामा दिने कांग्रेसका मन्त्रीहरुको लर्को चलेको छ । साउन ९ मा प्रदेशका चार मन्त्रीहरु युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएर मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
यो सँगै ३७ मध्ये २० सांसद मुख्यमन्त्रीविरुद्ध स्पष्ट देखिएका छन् । यसअघि कांग्रेसका २२ जनाले लामा विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए। सांसद मिना पराजुली र माया श्रेष्ठले भने प्रदेश संसदीय दलका नेता लामाविरुद्ध पेस गरिएको अविश्वास प्रस्तावमा आफूहरूको समर्थन नभएको स्पष्ट पारेका छन् ।
आर्थिक वर्ष ०८२/०८३ को बजेट निर्माणका क्रममा मन्त्री, सांसदबीच विवाद चुलिएको थियो । उनको कार्य शैलीप्रति कांग्रेसको केन्द्रीय समितिको बैठकमा समेत चर्चा पाएको थियो । उनलाई हटाउन कांग्रेसभित्रै आवाज उठ्दै आएको थियो ।
कांग्रेस संसदीय दलको विधान अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री रहन्छन् । अविश्वासको प्रस्तावले सार्थकता पाए बागमती प्रदेश सरकारमा नेतृत्व परिवर्तन हुनेछ । बागमती प्रदेशमा कांग्रेसबाट ३७ जना निर्वाचित सदस्य छन् । कांग्रेस बागमती प्रदेशसभाको सबै भन्दा ठूलो दल हो ।




प्रतिक्रिया