चौरसिया हत्या प्रकरणः पूर्वसांसदसहित १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता

चौरसिया हत्या प्रकरणः पूर्वसांसदसहित १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पर्साको बिन्दबासिनी गाउँपालिका समितिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिव मुकेश चौरसियाको हत्याको आरोप लागेका पूर्व सांसद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध सरकारी वकिल कार्यालयमा किटानी जाहेरी दर्ता भएको छ । पर्सा प्रहरीले पूर्व सांसद गुप्ताको नाम आएपछि जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो।

बिहीबार दिउँसो जिल्ला सरकारी वकिलको कार्यालयले सो किटानी जाहेरी दर्ता गर्दै जिल्ला प्रहरी कार्यालय बीरगंजलाई पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्तले रितपूर्वक आएको जाहेरी मात्रै दर्ता गर्ने अडान लिँदै आएकी छिन् । एसपी पन्तले चौरसियाको हत्यामा राजनीतिकरण भएको भन्दै प्रहरीले अनुसन्धानमा देखेका कुरालाई मात्र स्वीकार गर्ने र राजनीतिक दलको चाहनाअनुसार व्यक्तिलाई फसाउने नियमत देखिएकाले जाहेरी दर्ता नभएको बताएकी थिइन् ।

गत बिहीबार पर्साको बिन्दबासिनी गाउँपालिकाको प्रसौनी भाटास्थित नवगठित नेकपा गाउँपालिका समितिको शपथग्रहण कार्यक्रममा नेकपाकै दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनामा संलग्न व्यक्तिहरुलाई प्रधानमन्त्रीले बचाउन खोजेको आरोप लगाउँदै अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेकपाका नेता तथा कार्यकर्ताहरुले घटनाका मुख्य योजनाकार पूर्वसांसद गुप्तासहित १२ जना संग्लन व्यक्तिको जाहेरी दर्ता गर्न माग गर्दै लगातार प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई पक्राउ गरिसकेको छ भने मुख्य योजनाकार भनिएका पूर्व सांसद राजकुमार गुप्तालाई प्रहरीले पक्राउ गरी बिहीबार राति नै छाडेको थियो ।

उक्त झडपमा घाइते भएका उत्तम तिवारी र चिन्टु तिवारी अस्प्तालबाटै फरार छन् । चौरसियाको शव पोस्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको छ ।