एक दशकपछि राजकुमार लेखीको एमालेमा ‘कमब्याक’

एक दशकपछि राजकुमार लेखीको एमालेमा ‘कमब्याक’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गरेका छन् । चार दिन अघिमात्रै लोसपाबाट राजीनामा दिएका लेखी गोदावारीमा जारी विधान महाधिवेशनमार्फत एमालेमा प्रवेश गरेका हुन् ।

एमाले अध्यक्ष केपी ओलीले लेखीलाई पार्टीमा स्वागत गरेका थिए । उनीसँगै अन्य ५५ जना नेताहरु पनि एमालेमा प्रवेश गरेका छन् ।एमालेबाट अलग्गिएका लेखी एमाले परित्याग गरेको एक दशकपछि पुन एमालेमै फर्किएका हुन् ।

एमालेबाटै आफ्नो राजनीतिको सुरुवात गरेका भन्दै उनले पुनः एमालेमै आएको बताए । लेखीले पहिलो संविधानसभा विघटनपछि एमाले छाडेका थिए । त्यसबीचमा उनले आदिवासी जनजाति आन्दोलन, थरुहट आन्दोलनमा सक्रिय भूमिका खेलेका उनले आदिवासीका सबालमा अग्रणी भूमिका खेल्दै आएका छन् ।

राष्ट्रिय राजनीतिमा लगाव राख्ने लेखीले सामाजिक संस्थामा मात्र रहेर बसेनन् । आफ्नै नेतृत्वमा नागरिक समाजवादी पार्टीको स्थापना गरे । तर विसं २०७४ वैशाख ५ गते दस बुँदे सहमति गर्दै राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीसँग एकता गरे ।

सहमतिमा उनले थरुहट राज्य स्थापना र सीमांकनसहितको संविधान संशोधन गर्नुपर्ने बुँदा समावेश गरेका थिए । पछि सद्भावना राजपा, जसपा हुँदै लोसपामा परिणत भएको छ । लेखीलाई पार्टीमा फर्काउन एमालेका नेताहरुले ठूलै लबिङ गरेका थिए । उक्त प्रयासले एक दसकपछि आज सार्थकता पाएको छ ।

एमालेमा आदिवाी जनजाति नेताहरु खाँचो रहेको र त्यसका लागि लेखी उपयुक्त पात्र ठानेरै पार्टी अध्यक्ष केपी शर्मा ओलीसम्मले लबिङ गरेका थिए । ओली प्रधानमन्त्री रहँदा पटक पटक लेखीलाई बालुवाटार बोलाएर एमालेमा फर्किन आग्रह गरेका थिए ।

त्यतिमात्र होइन, सुवासचन्द्र नेम्वाङ, पृथ्बी सुब्बा गुरुङलगायत नेताहरुले पनि उनलाई एमाले फर्काउन लबिङ गर्दै आएका थिए । एमालेमा फर्किन लेखीले भने उपयुक्त समयको खोजीमा थिए । यतिबेला एमाले संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । यही मौका नै उनको लागि उपयुक्त भएको उनी निकट नेताहरु बताउँछन् । आन्तरिक द्वन्द्वमा अल्झेको एमालेभित्र लेखीलाई पहिलेको जस्तो सहजता भने पक्कै मिल्ने छैन ।