कठमाण्डु-अविरल वर्षाका कारण पृथ्वी राजमार्गको दर्जनौ स्थानमा पहिरो खसेपछि सवारी आवगमनमा थप समस्या उत्पन्न भएको छ ।
राजमार्गको ठाँउ ठाँउमा स–साना र ठुला पहिरो खस्दा सवारी आवगमनमा समस्या आएको हो । अधिकांश स्थानमा सवारी एकातर्फी मात्रै सञ्चालनमा छ भने राजमार्गको गल्छी गाउँपालिकास्थित बैरेको सिम बजार जलमग्न भएको छ ।
रातको समयमा परेको वर्षाले गर्दौ खोलामा पानीको बहाव बडेको र सडकमा पानी पसेपछि बजार समेत जलमग्न भएको थियो । अहिले पृथ्वी राजमार्ग राजमार्ग हुँदै संघीय राजधानी प्रवेश गर्ने र राजधानीबाट तराईका जिल्लाहरुमा जान निस्किएका यात्रुबाहक र मालवाहक सवारीका साधनहरु निकै कष्टप्रद तरिकाबाट यात्रा गर्न बाध्य छन् ।
सडक पहिरोको जोखिममा रहेको छ भने जथाभावी खनिएको सडकका कारण खाल्टाखुल्टीले दुर्घटनाको पनी उत्तिकै खतरा बढेका राजमार्ग प्रहरीको भनाई छ । राजमार्गमा खसेको पहिरो हटाउने काम भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी निरिक्षक रविन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
साँफे–मार्तडी सडक अवरुद्ध
लगातारको वर्षाका कारण पहिरो खस्दा साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । बडीमालिका नगरपालिका–६ नुनेपानीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।
साँफेस्थित सडक डिभिजन कार्यालयबाट उपकरणसहितको टोली पहिरो खसेको स्थानमा पुगेको छ । एक महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक भने अझै बन्द छ । उक्त सडकमा पर्ने बाउली र अनाइ खोलामा पानीको सतह निरन्तर बढेको तथा बडीमालिका नगरपालिका –७ जिल्लीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
यो सडक खुलाउन प्रयास भए तापनि लगातारको वर्षाका कारण सम्भव नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसैगरी, पहिरोले बागमती गाउँपालिका–३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले जानकारी दिए ।
अविरल वर्षपछि पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मङ्गलबार साँझदेखि परेको वर्षाका पहिरो खसेको हो । करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।
दब्ल्याङमा करिडोर माथिको ठूलो क्षेत्र कमजोर भएकाले सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने गरेको छ ।
प्रतिक्रिया