काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाण्डु क्षेत्र नम्बर ३ का उम्मेदवार राजु पाण्डेले मुलुकको परिस्थिति बिग्रिँदै गएपछि त्यसलाई सुधार गर्न उम्मेदवार बन्ने जोखिम लिएको बताएका छन् ।
शनिबार रास्वपाको निर्वाचन अभियान उद्घाटन तथा बृहत पार्टी प्रवेश कार्यक्रममा उनले देशको अवस्था सुधार गर्न जोखिम उठाएर एउटा सामान्य सुरक्षाकर्मीबाट प्रतिनिधि सभाको उम्मेदवार भएको बताए ।
उनले भने, ‘म एउटा सामान्य सुरक्षाकर्मी थिए तर जब मुलुकको परिस्थिति बिग्रिँदै गयो, त्यसलाई सुधार गर्न मैले केही जोखिम मोल्नुपर्ने अवस्था सिर्जना भयो । मैले मैदानबाट भाग्नुभन्दा परिस्थितिको सामना गर्न तयार भएँ । जुन मेरो पहिचान थियो, इतिहासले दिएको जिम्मेवारी र कर्तव्यलाई कुशलतापूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी राख्ने छैन ।’
उनले जनताले देशमा इमान्दारपूर्वक नियम र कानूनभित्र बसेर राज्यको लागि काम गर्ने र चिल्ला कुरा गरेर जनतालाई ढाँट्नेहरूबीच भिन्नता छुट्याउने बेला आएको बताए ।
उनले भने, ‘देशमा जसले इमान्दारपूर्वक काम गर्न चाहन्छ, नियम, कानूनभित्र बसेर राज्यको लागि काम गर्न चाहन्छ, त्यो मान्छे राम्रो हो कि चिल्ला कुरा गरेर जनतालाई ढाट्नेहरू राम्रो हो ? यस्तो कुरा जनताको बुझ्न जरुरी छ । देशमा लामो समयदेखि कुशासन भयो भनेर जेनजीहरुले आन्दोलन गरेर केही घण्टामै यहाँका शासकहरू भाग्न बाध्य भएका थिए । त्यो दिन हेक्का राख्न जरुरी छ । ती जेनजीहरूको रगतले तिनलाई कहिले शान्ति दिने छैन ।’
कुशासन र लामो समयदेखि जनतालाई झुक्काउने, ती पुराना र स्थापित भनिएका राजनीतिक दलहरूलाई जनताले मूल्यांकन गर्ने बेला आएको पनि उनको भनाइ छ ।




प्रतिक्रिया