निर्वाचनमा आवश्यक परे तत्काल परिचालन हनुहोस्, माथिको आदेश कुर्नु पर्दैन : महानिरीक्षक अर्याल

निर्वाचनमा आवश्यक परे तत्काल परिचालन हनुहोस्, माथिको आदेश कुर्नु पर्दैन : महानिरीक्षक अर्याल


काठमाण्डु– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्वाचनको समयमा नेपाल प्रहरी वा कर्मचारीलाई सहयोग आवश्यक परेमा तत्काल खटिन मातहत निकायलाई निर्देशन दिएका छन् ।

निर्वाचन सुरक्षा स्थिति बुझ्न गण्डकी प्रदेशका जिल्लाहरुमा महानिरीक्षक अर्यालले भूकम्प जस्ता प्रकोपमा स्वतः परिचालन भएजस्तै निर्वाचनको समयमा पनि आवश्यकता अनुसार तत्काल खटिन मातहत निकायलाई निर्देशन दिएका हुन् ।

उनले त्यसका लागि आदेश लिइरहन नपर्ने बताउँदै आवश्यक परेको खण्डमा स्वतः परिचालित हुन र परिचालन पश्चात् मुख्यालयमा जानकारी गराउन निर्देशन दिए ।

‘आदेशको पर्खाइमा नबस्नुहोस्, सुरक्षात्मक कारबाहीका लागि तत्काल परिचालन भएर जानकारी गराउनुहोस्, आदेश कुर्नु पर्दैन, यही स्थायी आदेश हो,’ महानिरीक्षक अर्यालले भने ।

मंगलबार महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की मातहत परिचालन हुने निर्वाचन प्रहरीहरूलाई समेत पूर्ण आत्मविश्वासकासाथ निर्वाचनमा परिचालन भई निर्वाचन सुरक्षामा खटिनु पर्नेमा जोड दिएका थिए ।

सोही दिन उनले स्याङ्जा र पाल्पा जिल्लाका सशस्त्र प्रहरी बल नेपालका युनिटहरू पुगेर निर्वाचन सुरक्षा बारे जानकारी लिएका थिए ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्तरीय सुरक्षा समितिको पदाधिकारीहरूसँग महानिरीक्षक अर्यालले आसन्न निर्वाचनको सुरक्षा बारेमा जानकारी लिएका थिए ।

यसैगरी महानिरीक्षक अर्यालले स्याङ्जाको वालिङस्थित सशस्त्र प्रहरी बल नेपाल नं। ३० गुल्म र निर्वाचन सुरक्षा बेस गल्याङ पुगेर निर्वाचन तयारीबारे जानकारी लिनुकासाथै आवश्यक निर्देशन दिएका छन् ।

यसैगरी मंगलबार नै उनले सशस्त्र प्रहरी बल नेपाल नं। ३५ गुल्म पाल्पा पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएका छन् ।

सो क्रममा गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक झुपाकुमारी पन्थीले निर्वाचन सुरक्षाबारे जानकारी गराउनुकासाथै प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरलगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग जिल्लाको शान्ति सुरक्षा र निर्वाचन सुरक्षाबारे जानकारी समेत लिएका थिए ।

महानिरीक्षक अर्यालले उच्च मनोबलका साथ निर्वाचन सुरक्षामा खटिन र नेपाली सेना, नेपाल प्रहरी र निर्वाचन कर्मचारीहरूलाई थप मद्दत र सहयोग आवश्यक परेमा आदेशविना नै तत्काल परिचालन हुन देशैभरका युनिटलाई निर्देशन दिएको जानकारी समेत गराएका थिए ।

उनले बुधबार गुल्मी जिल्लाको शान्ति सुरक्षा निर्वाचन तयारीबारे पनि जानकारी लिए । उनले लुम्बिनी प्रदेशमा समेत निर्वाचन तयारीबारे स्थलगत भ्रमण, अनुगमन तथा जानकारी लिएका छन् ।