काठमाण्डु – दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैतमा हुन नसक्ने भएपछि जेठमा हुने गरी सारिएको छ ।
कर्णाली प्रदेशमा हुने तय भएको दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति आगामी जेठका लागि तोकिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद २०८२ जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको छ । खेलकुदको मिति २ पटक सारिएको छ ।
यसअघि राखेपको ११८औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद २०८१ चैत २३–३० गतेसम्म गर्ने निर्णय गरेको छ । प्रतियोगिता गत मंसिर २–९ गतेसम्म कर्णाली प्रदेशमा हुने भनिए पनि अब सर्दैसर्दै जेठमा पुगेको छ ।
यसैबीच, बोर्ड बैठकले नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको छ । निलम्बनमा परेका राष्ट्रिय खेल संघमा नेपाल ब्याडमिन्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल जिम्न्याष्टिक संघ र नेपाल भारोत्तोलन संघ छन् ।
राखेप कार्यकारी समितिको बैठकले ६ खेल संघलाई कारबाही स्वरूप निलम्बन गर्न गरेको सिफारिसलाई राखेप बोर्ड बैठकले अनुमोदन गरेको छ ।




प्रतिक्रिया