काठमाण्डु – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज देशै भर मनाइँदैछ ।
मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ मनाइरहेका छन्
भाइ र बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने पर्व रक्षाबन्धन हो ।
खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरूले मनाउने यो एउटा पवित्र पर्व पनि हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा’ र ‘बन्धन’ । रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने बाचा दिइन्छ भने बन्धन जसले भाइ –बहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ ।
रक्षाबन्धन पारिवारिक मेलमिलाप बढाउने पर्व पनि हो । यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन् ।
रक्षाबन्धनका अवसरमा बजारमा पनि विशेष चहल पहल हुन्छ । रङ्गीविरङ्गी राखीले पसल सजेको छ ।
यस वर्ष रक्षाबन्धनको दिन नक्षत्र, बार, राखी बाँध्ने समय, पूर्णिमा तिथि सुरु र समाप्त हुने समय ९५ वर्षपछि एउटै परेको छ ।
सन् १९३० को रक्षाबन्धनको दिन र २०२५ अगस्त ९ उस्तै रहेको छ ।
त्यसैले ज्योतिषाचार्यहरूले यसलाई दुर्लभ संयोगको रूपमा मानेका छन् । सन् १९३० मा रक्षाबन्धन ९ अगस्टमै परेको थियो र त्यसदिन पनि शनिवार नै थियो ।
यस्तैगरी, आज सन् २०२५ अगस्त ९मा पनि रक्षाबन्धन परेको छ र दिन पनि शनिबार रहेको छ ।
सन् १९३० को सावन पूर्णिमा र २०२५ को सावन पूर्णिमाको सुरुआतको समय पनि लगभग समान छ । १९३० मा जस्तै यस वर्ष पनि सौभाग्य योग र श्रवण नक्षत्र परेको छ । यसैले ज्योतिषाचार्यहरूले यसलाई अत्यन्त दुर्लभ संयोगका रूपमा मानेका छन् ।




प्रतिक्रिया