काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर प्रसाद ज्ञवालीलाई सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।
बुधबार पदभार ग्रहण गरेपछि भेट गर्न मन्त्रालय पुगेका आईजीपी ज्ञवालीलाई गृहमन्त्री बादलले सफल कार्यकालको शुभकामना दिएका हुन् ।
गृहमन्त्री बादलले राज्यले दिएको जिम्मेवारी इमान्दारीतापूर्वक निर्वाह गर्न निर्देशन दिएका छन् ।
‘चुनौतिहरु थुप्रै छ, कतिपय काम पूरा गर्न बाँकी छन्, ती सफलतापुर्वक सम्पन्न गर्नुहुनेछ, गृहमन्त्रीको रुपमा तपाईंलाई पुर्ण सहयोग हुनेछ’, गृहमन्त्री बादलले भने ।
त्यस्तै गृहमन्त्री बादलले सहकर्मीहरुलाई साथमा लिएर एकतावद्ध भएर काम गर्न निर्देशन दिए । उनले आईजीपी ज्ञवालीलाई थोरै समयमा धेरै काम गरेर देखाउने चुनौती रहेको बताए ।
‘तपाईंको कार्यकालको समय थोरै छ, तर इच्छाशक्ति देखाउनुभयो भने पाँच वर्षमा हुन नसकेका काम पाँच महिनामा गर्न सकिन्छ’, गृहमन्त्री बादलले भने ।
आईजीपी ज्ञवालीलाई आजै गृहसचिव महेश्वर न्यौपानेले दज्र्यानी चिन्ह प्रदान गरेका थिए । दज्र्यानी चिन्ह ग्रहण गरे पश्चता आईजीपी ज्ञवालीले पदभार ग्रहण गरिसकेका छन् ।
सरकारले सर्वेन्द्र खनालको ३० वर्षे सेवा अवधिपछि ज्ञवालीलाई मंगलबार आईजीपीमा नियुक्त गरेको थियो ।





प्रतिक्रिया