काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले सशस्त्र प्रहरी बललाई समयानुकुल विकास र विस्तार गर्न प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा शुक्रबार आयोजित ‘२०औं सशस्त्र प्रहरी दिवस २०७७’ विशेष समारोहमा बोल्दै गृहमन्त्री थापाले सीमा सुरक्षा, चोरीपैठारी निकासी नियन्त्रण, सीमावर्ती अपराध नियन्त्रण लगाएतका कार्यका लागि क्रमीक रुपमा बोर्डर आउट पोष्टहरु थप गर्दै लगिने उल्लेख गरेका छन् ।
गृहमन्त्री बादलले सशस्त्र प्रहरी राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा उत्कृष्ट कार्यसम्पादन गर्दै जनताको भरोसायुक्त सुरक्षा संगठनको रुपमा स्थापित रहेको उल्लेख गर्दै सशस्त्र प्रहरी कर्मचारीहरुले देशका ७७ वटै जिल्लामा खटिएर शान्ति सुरक्षा, सीमा सुरक्षा, औद्योगिक सुरक्षा, राजश्व चुहावट नियन्त्रण लगायतका कार्यहरुमा प्रदर्शन गरेको उच्च व्यवसायीकताको प्रशंसा गरेका छन् ।
उनले राष्ट्र र नागरिकको सेवा तथा सुरक्षाका लागि सशस्त्र प्रहरी बल, नेपालले अन्य सम्बद्ध निकायहरुसँग समन्वय गर्दै उत्कृष्ट कार्य गरिरहेको उल्लेख गर्दै उच्च हिमाली क्षेत्रदेखि तराईसम्म तथा संयुक्त राष्ट्र संघीय विभिन्न मिसनहरुमा समेत शान्ति स्थापनार्थ खटिएर प्रदर्शन गरेको कार्यदक्षताको अन्तर्राष्ट्रियस्तरबाट समेत प्रशंसा भएको बताए ।
उनले सोही समारोहमा हालै बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिम ढाका म्याराथन–२०२१ मा साउथ एशियन क्याटागोरीमा महिलातर्फ स्वर्ण पदक हासिल गर्न सफल नेपाल एपीएफ क्लबकी धावक सशस्त्र प्रहरी परिचर पुष्पा भण्डारीलाई पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र र नागरिकको सेवा, सुरक्षा र आपद् विपद्का बेला उद्धार कार्यका लागि राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु अहोरात्र कार्यक्षेत्रमा खटिई विशिष्ट योगदान पु¥याईरहेको उल्लेख गर्दै शान्ति सुरक्षा, सीमा सुरक्षा र जनताको जीउ धनको सुरक्षाको लागि सशस्त्र प्रहरी बल, नेपाल कटिवद्ध रहेको बताए ।
उनले सशस्त्र प्रहरी बल, नेपालले बेरुजु फछ्र्यौटमा उत्कृष्ट कार्य गरेको उल्लेख गर्दै सुशासन, आर्थिक अनुशासन, मानवअधिकारको सम्मानका साथै लैंगिक हिंसामा शुन्य सहनशिलताको नीति अवलम्वन गरी व्यवसायीक कार्यसम्पादनमा संगठन कृयाशिल रहेको तथा अवैध चोरीपैठारी निकासी नियन्त्रणमा समेत उत्कृष्ट कार्य गरिरहेको उल्लेख गरे ।




प्रतिक्रिया