पोखरा – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले लिएको सहि सुरक्षा रणनीतिका कारण नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी र सिके राउतको पार्टी मुलधार मा आएको बताएका छन् ।
पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री बादलले मुलधार बाहिरका शक्तिहरुलाई नियन्त्रणमा गर्न राज्यले ुप्रशासनिक कारवाहि र राजनीतिक संवादु को दुई नीति लिएकोमा त्यो सफल भएको बताएका छन् ।
उनले भने, ‘यसअघिका सुरक्षा गोष्ठीमा विप्लव र सिके राउतले उत्पन्न गरेका सुरक्षा चुनौति प्रमुख विषय हुन्थे । यसपटकको गोष्ठिसम्म आईपुग्दा ती विषय गौण बन्न पुगे । हामीले उनिहरुलाई एकातर्फ प्रशासनिक कारवाहि गरेर रक्षात्मक अवस्थामा पुर्यायौँ, अर्कोतर्फ वार्ताको माध्यमबाट समस्या समाधान गर्यौँ ।’
उनले राज्यलाई नै चुनौति दिनेस्तरका समूहहरु अब नरहेको भन्दै अझै केही समूह जाति, क्षेत्र र धर्मका नाममा अस्थिरता निम्त्याउन प्रयासरत रहेकोले सुरक्षा निकाय त्यसतर्फ पनि सचेत हुन आवश्यक रहेको टिप्पणी गरेका छन् ।
गृहमन्त्री थापाले सुरक्षा गोष्ठिमार्फत गण्डकी प्रदेशका ११ जिल्लाको सुरक्षा अवस्था , सकारात्मक र नकारात्मक पक्षबारे जानकारी आएको भन्दै अब सोहि अनुसार नयाँ सुरक्षा रणनीति बन्ने विश्वास व्यक्त गरे । उनले अहिले देखिएका कमजोरीलाई निर्ममतापुर्वक सच्याउन समेत मातहतका निकायहरुलाई निर्देशन दिए ।
कोरोनाका कारण विगत एक वर्षदेखि हुन नसकेको सुरक्षा गोष्ठी गण्डकी प्रदेशबाट सुरु भएको छ । गोष्ठी आइतबारबाट सुरु भएकोमा आज गृहमन्त्रीले औपचारिक उद्घाटन गरेका छन् ।
गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा आइतबारबाट सुरु भएको गोष्ठिमा गोष्ठिमा गृहमन्त्री बादल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, आन्तरिक मामिला मन्त्री रामशरण बस्नेत, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका आईजीपी सैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका युद्धकार्य निर्देशनालयका रथी तथा गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका सिडियो र जिल्लास्थित चार वटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति छ ।
गत वर्षनै हुनपर्ने सुरक्षा गोष्ठि कोरोनाका कारण रोकिएको थियो ।




प्रतिक्रिया