काठमाण्डु – गृहमन्त्री रामबहादुर थापाले विपद् रोक्नका लागि विकास नीति परिवर्तन आवश्यक रहेको बताएका छन् ।मुलुकमा विकास नीति भनेको नै डोजर नीति भएको उल्लेख गर्दै मन्त्री थापाले यसलाई परिर्तन गर्नुपर्ने बताएका छन् ।
गृहमन्त्रालयमा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री थापाले भने, ‘विकास नीति भनेकै डोजर नीति भयो, हाम्रा डोजर चालक नै इञ्जिनीयर भए, त्यसले पनि विपद् निम्त्याउन सहयोग गरिरहेको छ ।’
उनले आम समुदायमा भूकम्प प्रतिरोधी घर बनाउनुपर्छ, बाढी आउने नदीको किनारमा बसोबास गर्नुहुन्न, पहिराको जोखिम क्षेत्रमा बस्ती बसाउनुहुन्न चेतना जागृत गराउनुपर्ने आवश्यकता रहेको बताए ।
मन्त्री थापाले विपद् नेपालको मात्रै नभई अन्तरराष्ट्रिय समस्या भएकाले विश्वले नै विपद्को सामना गरिरहेको बताए । उनले धनजनको क्षति हुनुको वस्तुगत कारण र आत्मगत कारण पत्ता लगाउनु जरुरी रहेको उल्लेख गरे ।
विपद् आउनुको महत्वपूर्ण कारण भनेको जलवायु परिवर्तन रहेको मन्त्री थापाले औँल्याए । त्यसपछि केही मानवीय कारणसमेत रहेको उनले बताए । अवैज्ञानिक र अव्यवस्थित बसोबासले पनि क्षति पुगेको गृहमन्त्री थापाको भनाइ छ । उनले विपद्का घटनामा तत्कालीनरुपमा उद्धार र दीर्घकालीनरुपमा पुनःनिर्माणको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।
उनले सरकारले विपद् किन बढिरहेको छ, यसका कारण के हुन्, समाधान कसरी गर्न सकिन्छ भनेर नियमितरुपमा काम गर्दै आएको र योजना निर्माण गर्दै आएको जानकारी दिए । उनले विविध समस्याका कारण अत्यावश्यक क्षेत्रमा राहत तथा उद्धार सामग्री समयमै पु¥याउन नसकिएको बताए ।
कार्यकारी समितिका अध्यक्षसमेत रहनुभएका गृहमन्त्री थापाले समितिको अर्को बैठकमा विपद्ले गरेको क्षतिको विवरण र विपद् भएका क्षेत्रमा पुनःनिर्माणको योजना, कार्यक्रम र बजेटको खाका ल्याउन समितिका सदस्यलाई निर्देशन दिए ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरसहित विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया