काठमाण्डु – भवन शिलान्याशका लागि गृहमन्त्री रामबहादुर थापा बादल दार्चुलाको छाङरु पुगेका छन् । गृहमन्त्री बादल सशस्त्र प्रहरीको गुल्म शिलान्याशका लागि ब्याँस गाउँपालिका– १ छाङरुको गागामा पुगेका हुन् ।
भारतद्धारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र पर्ने ब्याँस क्षेत्रमा पछिल्लो समय सरकारले सुरक्षा उपस्थिति बढाउँदै गएको छ ।
गृहमन्त्री थापाको टोलीमा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्ना, राजनीतिक सल्लाहाकार सुर्य सुवेदी, सुरक्षा सल्लाहाकार इन्द्रजीत राई, गृह सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे लगायत रहेका छन् ।
इन्स्पेक्टरको कमाण्डमा २५ जना रहँदै आएकोमा अहिले छाङरुमा गुल्म स्थापना भएपछि डीएसपी धीरेन्द्र शाहको नेतृत्वमा टोली खटिएको छ । डीएसपीले कमाण्ड गर्ने गुल्ममा १६० जना प्रहरी रहनेछन् ।
१० करोड लागतमा बन्ने भवन निर्माणका लागि दुई साताअघि ठेक्का सम्झौता भइसकेको छ ।




प्रतिक्रिया