गृहमन्त्री बादल र इयुका राजदुतबीच भेटवार्ता


काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयु)का राजदुत नोना देप्रेजले आज शिष्टाचार भेटवार्ता गरेकी छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र इयुका राष्ट्रहरुबीचको द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले इयुको नेपालका लागि राजदुतको रुपमा नियुक्त भएकोमा राजदुत देप्रेजलाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उनको कार्यकालमा नेपाल–इयु सम्बन्ध थप उचाईमा पुग्ने विश्वाँस व्यक्त गरे । उनले पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएको भन्दै नेपालको हवाई क्षेत्रमा इयुले लगाएको प्रतिबन्ध हटाउन समेत राजदुत देप्रेजसँग आग्रह गरे ।

गृहमन्त्री थापाले नेपालको विकास, लोकतन्त्र, मानवअधिकार र विपद् व्यवस्थापन लागयतका क्षेत्रमा इयुले गर्दै आएको सहयोगका लागि राजदुतमार्फत धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वाँस व्यक्त गरे ।

भेटमा राजदुत देप्रेजले नेपाल र इयुका राष्ट्रहरुबीच ऐतिहाँसिक सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप बलियो बनाउन भूमिका खेल्ने बताइन । उनले नेपाललाई इयुले दिँदै आएको सहयोग निरन्तर रहने तथा आगामी दिनमा थप सहयोग बिस्तार गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिवन्ध प्राविधिक विषय भएको बताउँदै सो सम्बन्धमा इयुको प्राविधिक समितिले अध्ययन गररहेको तथा छिट्टै निश्कर्षमा पुग्ने आश्वासन राजदुत देप्रेजले दिइन् । भेटमा उनले नेपालको संघियताको अभ्यास, विपद् व्यवस्थापन र कोरोना नियन्त्रणमा चालेका कदमका सम्बन्धमा गृहमन्त्री थापासँग जिज्ञासा राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement