काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले देशले जटिल परिस्थितिको सामना गरिरहेको बताएका छन् ।
शनिबार काठमाण्डुमा आयोजित ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री बादलले प्रचण्ड–माधव नेपालतर्फ संकेत गर्दै पार्टी फूटाउनमा प्रतिगामी शक्ति सक्रिय भएको बताएका छन् ।
‘जटिल परिस्थितिको सामना गरिरहेका छौं । महत्वपूर्ण भूमिका खेलेको छ । यो परिस्थिति सिर्जना गर्नमा प्रतिगामी शक्तिको महत्वपूर्ण भूमिका खेलेको छ । इतिहासले हरेक मोडहरुमा प्रश्न उब्ज्याएको छ,’ उनले भने ।
गृहमन्त्री बादलले प्रतिगामी शक्तिहरुले गुमेको सत्ता प्राप्त गर्नका लागि नेकाप विभाजन गरेको खुलासा गरेका छन् ।
‘उनीहरुले राजनीतिक अस्थीरता पैदा गर्ने भन्ने रणनीतिक तय गरे । उनीहरुले नेकपालाई विभाजन गर्न सफल भए । नेकपाको एउटा गुट पार्टीबाट अलग भएको छ । यो विभाजनबाट उनीहरु उत्साहित भएका छन् । उनीहरुले नेकपाको निर्वाचित सरकार र दुई तिहाईको सरकार विभाजन भएकोमा हर्सोल्लास मनाइरहेका छन् । हामी फेरी पुरानै सत्ता फर्काउन सक्छौं भन्ने विश्वासमा लागेका छन्’, उनले भने ।
गृहमन्त्री थापाले राजनीतिक स्थायित्वका लागि जनतामा जाने निर्णय सही भएको बताएका छन् । उनले नेकपाकालाई विभाजन गरेर नेपालमा राजनीतिक अस्थिरता फैलाउन प्रतिक्रियावादी सफल भएको उनले बताए ।
‘राजनीतिक स्थायित्वका लागि जनतामा जाने निर्णय सही छ । पुरानो संसद होइन्, नयाँ संसद स्थापना आजको सही मार्गचित्र हो,’ उनले भने, ‘केन्द्रमा कारबाही गरेर, पार्टीबाट निष्काशित गरेर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न सकिँदैन । जनताको बीचमा गएर कम्युनिस्ट आन्दोलनका अवसरवादी प्रवृतिलाई किनारा लगाउन सकिन्छ ।’




प्रतिक्रिया